सानैदेखि राम्रो फुटबल खेल्ने उनी कुनै समयका अन्डर–१२ का राष्ट्रिय खेलाडी पनि हुन् । अहिले २३ वर्षमा हिँड्दै गरेका उनले २ वर्ष एन्फा एकेडेमीमा बिताएका छन् । खेलका क्रममा खुट्टा फ्याक्चर भएर घाइते भएपछि आफ्नो मन संगीतमा गएको उनी बताउँछन् ।
वैदेशिक रोजगारीमा हिँड्ने तरखरमा रहेको एक ठिटोलाई भ्वाइस अफ नेपालको विजेता बन्छु भन्ने के थाहा ? पूर्वका केही जिल्लामा आफ्नो स्थानीय ब्यान्ड ‘नेपाली सियन’मार्फत कन्सर्ट गर्दै हिँड्ने राम लिम्बूलाई भ्वाइस अफ नेपाल सिजन–२ कोअडिसनबारे थाहा समेत थिएन ।
बिर्तामोड, झापाका उनलाई साथीले डिजिटल अडिसनबारे सुनाएपछि विदेशयात्रालाई तत्काल थाती राखेर उनी अडिसनमा सहभागी भएका थिए, एउटा भिडियो क्लिपमार्फत । त्यो क्लिप उनको भाग्य अजमाउने पहिलो खुड्किला बन्यो । त्यही क्लिपले उनलाई भ्वाइस अफ नेपालमा प्रतिस्पर्धाका लागि छनोट गरायो । तिनै राम लिम्बू अन्तत: गत शनिबार भ्वाइस अफ नेपाल सिजन–२ को विजेता घोषित भए । भ्वाइस अफ नेपालको सिजन–२ जितेसँगै उनलाई भावी संगीत स्टारका रूपमा हेरिन थालिएको छ ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश ताकिरहेका उनले भ्वाइसको विजेता बनेसँगै अहिले स्वदेशमै संगीतमा काम गर्ने सबैभन्दा ठूलो मञ्च पाएका छन् । युवापुस्तामा उनको स्टार छवि बनेको छ । उनको परिवारमा ६ जना सदस्य छन् । उनका १ जना जुम्ल्याहा भाइ छन् भने १/१ जना दाइ र दिदी छन्, उनी साहिँला हुन् ।
भ्वाइससम्म विजेता बन्नका लागि विभिन्न चरणका कडा संघर्ष गर्नुपरेजस्तै उनले जीवनमा पनि थुप्रै संघर्ष गरेका छन् । सानो छँदा उनले राम्रो फुटबलर बन्ने सपना देखेका थिए । सानैदेखि राम्रो फुटबल खेल्ने उनी कुनै समयका अन्डर–१२ का राष्ट्रिय खेलाडी पनि हुन् । अहिले २३ वर्षमा हिँड्दै गरेका उनले २ वर्ष एन्फा एकेडेमीमा बिताएका छन् । खेलका क्रममा खुट्टा फ्याक्चर भएर घाइते भएपछि आफ्नो मन संगीतमा गएको उनी बताउँछन् । साथीहरूको उक्साहटमा अडिसन दिएका उनी भन्छन्, ‘भ्वाइस अन्तर्राष्ट्रिय रियालिटी शो भएका कारण पहिल्यैदेखि फलो गरिरहेको थिएँ ।’
यसअघि उनले नेपाल आइडलका लागि पनि फारम भरेका थिए । विराटनगरमा भएको अडिसनमा दिनभर कुर्दा पनि पालो नआएपछि अडिसन नै दिएनन् । सांगीतिक क्षेत्रमा गायक प्रमोद खरेललाई गड फादर मान्ने उनी पप रक गीत सुन्न तथा गाउन मन पराउँछन् । यो स्थानसम्म आइपुग्न गायक खरेलले धेरै हौसला तथा सहयोग गरेको उनले बताए ।
गायक सबिन राईका गीतहरू मन पराउने राम नेपथ्य ब्यान्डको फ्यान भएको सुनाउँछन् । दर्शकको माया, हौसला तथा साथले नै यहाँसम्म आएको बताउने उनको अब नेपाली गीत–संगीतमै केही गर्ने धोको छ । कक्षा १२ सम्म अध्ययन गरेका रामले अबको समय अध्ययन र संगीतमा लाग्ने योजना बनाएका छन् । सांगीतिक कार्यक्रमका लागि भ्वाइस अफ नेपालसँग कन्ट्रयाक्ट भएका कारण केही समय यसैमा भुल्ने हुनाले आफ्ना नयाँ गीतका लागि समय लाग्ने उनले बताए । यो उचाइसम्म आइपुग्न आफूहरूको स्थानीय ब्यान्ड नेपाली सियन महत्त्वपूर्ण कोसेढुङ्गा भएको उनको बुझाई छ । त्यसैले त्यो ब्यान्डमा पनि काम गर्ने उनको चाहना छ ।