रिवन’ डिजाइनमा बसेको छ धनगढी सहर । झण्डै ८० वर्ष अगाडि व्यापारिक तथा प्रशासनिक केन्द्र स्थापनाको विगतबाट सुरु भएको हो इतिहास । त्यसैमा टेकेर धनगढीको अहिलेको आधुनिक स्वरूप निर्माण भयो ।
पछिल्लो समयमा राजनीति, व्यापार, पूर्वाधार विकास र अन्य मानवीय सुविधाका उच्चतम् बिन्दुलाई प्राप्त गर्न निरन्तर लम्किरहेको छ धनगढी । तर, सुदूरपश्चिमकै ‘हब’ का रूपमा विकसित धनगढी पनि यतिबेला देशका अरू सहर झै मूर्छित अवस्थामा छ ।
यही धनगढीमा दुई महिनाअघि एउटा फरक महोत्सवको आयोजना भयो । त्यो महोत्सव १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालकै सबैभन्दा ठूलो मानिने सुदूरपश्चिम सांस्कृतिक महोत्सव थिएन । कुनै गानाबजाना र मनोरञ्जनका कार्यक्रमहरू नसमेटिएको त्यो महोत्सवलाई आयोजकले ‘सुदूरपश्चिम खाना महोत्सव’ नाम दिएका थिए । धनगढीको खुलामञ्चमा एक सातासम्म सञ्चालन भएको खाना महोत्सवको मुख्य उद्देश्य सुदूरका मौलिक खानाका परिकारहरूको प्रवद्र्धन गर्नुथियो ।
ढुकढुकेदेखि निससेसम्म, फाउने माणादेखि डुप्का र फाणोसम्म । अनि थारु समुदायको आकर्षक परिकारहरू घोंघीदेखि डिक्री र भुरा माछाको चटनीसम्मका स्टलहरू थिए उक्त महोत्सवमा ।
पछिल्ला वर्षहरूमा सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र धनगढीमा सहरिया वातावरण ह्वात्तै बढेका हो । सहरियाको परिचय झल्काउने नयाँ–नयाँ पहिरन र खानपान संस्कृति पनि विकास हुँदै गएको थियो । होटल रेस्टुराँहरूमा खानपान गर्ने चलन बढेसँगै यहाँका मौलिक खानाका परिकार र उत्पादनहरू ओझेल पर्दै गए । त्यही भएर कैलाली होटल व्यवसायी संघले पहिलो पटक सुदूरपश्चिम खाना महोत्सव आयोजना गरेको थियो । हुन त बेला–बेलामा मौलिक पहिचान र संस्कृति जोगाउन अनेक साँकृतिक कार्यक्रमहरू पनि धनगढीमै केन्द्रित नभएका होइनन् ।
धनगढीमा पछिल्लो समय खानपान संस्कृति यतिधेरै फेरियो कि यहाँ धमाधम खुलेका एकपछि अर्को रेस्टुराँ, क्याफे र कटेजहरूले त्यसको पुष्टि गर्छ । यस क्षेत्रको भूमिपुत्र भनिने थारु समुदायले सञ्चालन गरेका होमस्टेको आकर्षणहरू पनि कम थिएन र छैन ।
मुख्य बजारमा खुलेका डिलाइट, मिक्ला, बेल्स, फ्युजनलगायतका क्याफेहरूको कुरै छाडौं । खाना मात्रै खुवाउने राइनो होटलमा यतिधेरै भीडभाड हुने कि अर्डर गरेको एक घण्टामा बल्ल पालो पाइने । कतिपय युवाहरूले अहिले पनि सुनाउँछन्, ‘रेस्टुराँमा गएर खान नपाएर निकै छटपटी भइसक्यो ।’ अर्को भान्सा घर बेल्स परिकारमा पनि कम्ता घुइँचो हुन्थेन ।
महँगा कफी सपहरू । चौलानी डिपार्टमेन्टल स्टोर्सभित्र खुलेको कफी सपमा पैसा खर्च गर्नसक्नेहरूको बाक्लै उपस्थिति हुने । त्यही डिपार्टमेन्टल स्टोर्सले हालै सञ्चालनमा ल्याएको रेस्टुराँ र मेनु पाँचतारे होटलकै स्तरमा छ ।
साथी, रुबस, डिभोटी, फ्लोरालगायतका ठूलो लगानीका होटलहरू पनि सधंै प्याक । धनगढीमा सञ्चालित पार्टी प्यालेसहरूमा पनि सभासम्मेलन र बिहे व्रतबन्धका कार्यक्रम अक्सर भइरहने । धनगढीका बासिन्दालाई सहरिया जीवनशैलीमा ढाल्ने भूमिका यहाँको रेस्टुराँ कल्चरले विकास गरेको हो । ‘धनगढीमा होटल रेस्टुराँमा लगानी झन्डै ६ अर्ब बढी लगानी छ,’ कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले भने ।
धनगढी नेपालकै व्यस्त सहरमध्ये एक । सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य गन्तव्य भएकाले जनघनत्व वृद्धिदर सबैभन्दा उच्च रहेको सहर । भौतिक पूर्वाधारको विकास, सुखसुविधा बढ्दै गएको सहर । सहरियापन बढ्दै गएको सहर । धनगढीमै वर्षौंदेखि फेन्सी पसल गरिरहेका पर्मानन्द पनेरु भन्छन, ‘सुदूरपश्चिममा भित्रिने पोसाकको पहिलो फेसन धनगढीबाटै सुरु हुन्छ ।’
‘धनगढीमा बसाईसराइ र जनसंख्या वृद्धिदर उच्च छ,’ धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडले भने, ‘व्यवस्थित बसोबास निम्ति सार्वजनिक पूर्वाधार विकास तीव्र गतिमा चलिरहेका छन् ।’ नगरप्रमुख वडका अनुसार सात पहाडी जिल्लाबाट बसाईसराइ बढेको बढ्यै छ । १० वर्षमा २ लाखभन्दा बढी मान्छे सरेर आएको तथ्यांक छ । कुल जनसंख्या १० लाख नाघेको छ । त्यसैले पनि यहाँको जीवनशैली प्रतिस्पर्धात्मक बनेको जानकारहरूको बुझाइ छ ।
अहिले तीव्रतर विकासमा अघि बढिरहेको धनगढीको पृष्ठभूमि गहिरो गरी कोट्याउने हो भने पत्यानै मुस्किल पर्छ । त्यसबेला राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटै गोश्वारा थियो । गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो ।
बुढापाकाहरूका अनुसार वि.सं. १९९७ मा सदरमुकाम धनगढी सारियो । सरकारी कार्यालयहरू पनि सार्नेक्रम त्यही बेला सुरु भयो । कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति मात्रै थियो । अभिलेखअनुसार ०१९ सालमा कैलाली र कञ्चनपुर अलग भएका हुन् । तर, मुख्य मुकाम धनगढी नै भयो । व्यापारिक केन्द्र पनि ।
धनगढीले सहरको स्वरूप धारण गरिसकेको भए पनि खानपान संस्कृति फेरिन थालेको भने धेरै भएको छैन । दुई चार वर्षयता रेस्टुराँ जाने, आउटिङ जाने, चलन बढेको हो । पछिल्लो समय स्थानीय बासिन्दाहरूमा पनि यो एक प्रकारको फेसन जस्तै बनिसकेको छ ।
कुनै समय थियो के गाउँ, के सहर बिहान–बेलुका खानाका रूपमा दाल–भात अनि खाजाका नाममा चिउरा, रोटी एवं तरकारी खाने चलन थियो । कहिलेकाहीँ बाहिर खान नै गए पनि म:म: र चाउमिन अनि बढीमा खाजा सेट । पिज्जा त धेरैलाई थाहै थिएन । तर, पछिल्ला दिनमा धनगढीमै पनि पिज्जा खानु त एउटा वर्गका लागि नियमित नै भइसकेको थियो । केही संख्यामा खुलेका डान्सबार जाने संस्कृतिमा पनि युवायुवतीहरूको उत्तिकै आकर्षण ।
धनगढी बजारदेखि झन्डै ४ किलोमिटर दूरीमा रहेको मोहना किनारमा कमल राना (हप्पु) ले आफ्नै घरमा होमस्टे सञ्चालन गरेका छन् । घुइँयाघाटमा रहेको उनको होमस्टेमा खानपानमा रुचि भएका धनगढीका युवा र कर्मचारीहरू नपुगेका सायदै होलान ।
हप्पुले सञ्चालन गरेको होमस्टेको आफ्नै ब्रान्ड छ । घरकै भान्सामा मौलिक परिकार तयार गर्न परिवारका सबै सदस्य जुट्छन् । पसिना छुटाउने खालका हुने भए पनि केही नबिगार्ने खुर्सानीको पिरोको स्वादमा लोकल कुखुराको ठूलठूलो पिस र ग्रेबी उनको भान्साको पकवानको मुख्य विशेषता हो । त्यसैमा आलु पोलेर बनाएको चट्नी । डबल तड्का दिएर पिरो बनाएको लोक्कल कुखुराको त्यही झोल र ग्रेबीसँग घरेलु चामलको भात मुछेर खान पाइने स्वाद लिन दैनिक घुइँचो लाग्छ हप्पुको होमस्टेमा । ‘औसतमा दैनिक लाखको व्यापार हुने गरको छ’ हप्पुले भने ।
दिनेश चौधरीले सञ्चालन गरेको बंग्रा कटानमा रहेको थारु होमस्टेमा पनि उस्तै घुइँचो । एकान्त ठाउँ, लोकल उत्पादनका मौलिक परिकारहरू । टाढाटाढाबाट पग्छन् उनकोमा ग्राहकहरू । ‘कुनै–कुनै दिन त माग थेग्नै नसकेर फर्काउनुपर्छ’ दिनेशले भने ।
चैत पहिलो सातासम्म निकै घुइँचो लागि रहेने मध्येको अर्को थारु कटेज डायमन्ड पनि थियो । लोकल कुखुराको परिकार पाक्ने उनको कटेजमा ग्राहकहरूको थामिनसक्नु घुइँचो हुन्थ्यो । कोरोना कहरपछि जुन सुनसान छ ।
धमाधम खुलेका ठूलादेखि साना लगानीका होटल तथा रेस्टुराँहरू । सहरको चरित्र गाउँमा जस्तो आफ्नै खेतीपाती हुनेहरू सहरमा थोरै हुने, हरेक व्यक्ति आ–आफ्नै काममा व्यस्त सबैलाई पैसा कमाउने धुन । होटल होस् या रेस्टुराँ वा अन्य उद्योगधन्दा र व्यवसाय हरेक व्यक्ति व्यस्त भएको सहर ।
अर्थतन्त्र उठ्दै गरेको सहर । आम्दानी र करका दायराहरू बढेको सहर । विकास पूर्वाधारहरू धमाधम चलिरहेका, उद्योगधन्दा र कलकारखाना पनि धमाधम सञ्चालन भइरहेको ठाउँ । शिक्षा, स्वास्थ्य र यातायातको त धनगढी अगाडिदेखिकै हब हो । हजारौंलाई रोजगारी र गुजारा चलाउने माध्यमहरू दिएको सुदूरपश्चिमको मुख्य व्यापारिक सहर धनगढीमा आम्दानीका सम्भावना बढी छन् । व्यक्तिपिच्छेको आफ्नै पेसा छ । ‘दु्रत गतिमा विकास भइरहेको सहर हो धनगढी’ धनगढीका व्यवसायी दिनेश भण्डारी भन्छन्, ‘धनगढीले धेरैलाई रोजीरोटी दिएको छ । अर्थतन्त्र माथि उठाएको छ ।’
धनगढीलाई पनि यतिबेला कोरोना कहरले नराम्ररी थला पारेको छ । यहाँ क्षेत्र ठप्प छ । बुधबारसम्म देशभर ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएकामा सुदूरपश्चिममै ४ जना देखिएपछि झन् धेरै त्रास छ । सबै क्षेत्रलाई उकुसमुकुस । सबैको मनमा एउटै पुकार । धनगढीका लालबहादुर धामीले भने, ‘योभन्दा बढी नफैलिदिए हुन्थ्यो ।’
कोरोना भाइरस संक्रमणको त्रासले पश्चिमी बिन्दुमा हुर्कंदै गएको मुख्य सहर धनगढीको खुसी लुटेको छ । यहाँ सञ्चालित दर्जनौंको संख्यामा रहेका स्तरीय रेष्टुराँ, क्याफे तथा कटेजहरूमा यतिबेला ताला झुन्डिएको छ । सुविधासम्पन्न ठूल्ठूला होटलहरूको पनि त्यही हालत छ । स–साना होटल तथा खाजाघरहरूको हालत पनि उस्तै छ । बढ्दै गरेको बेरोजगारी न्यूनीकरण गर्नमा महत्वपूर्ण योगदान दिइरहेका अनेक क्षेत्र यतिबेला आफैं हायलकायल छन् । ‘आर्थिक रूपमा त बर्वादै हुने भइयो’ धनगढीको डायमन्ड कटेजका सञ्चालक हिरा चौधरी भन्छन्, ‘तर पनि ज्यान जोगियो भने व्यवसाय त पछि पनि गरौंला ।’
उहिलेको धनगढी
आठ दशकअघिको कुरा हो । बुढापाकाहरूका अनुसार त्यति बेलाको धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । वरिपरि जताततै जंगलले ढाकेको थियो । अहिलेको सेती प्रादेशिक अस्पतालका दुइटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधीशको आवास, कारागार, वन विभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँचवटा मात्र पक्की भवन ।
अरू सबै काठका घर । अहिलेजस्तो काठको समस्या थिएन । रूख काटेर चार खामा गाड्यो । माथि खरले छायो । घर तयार भयो । बिजुली बत्तीको त थिएन । मट्टितेल हालेर टुकी बाल्ने चलन थियो ।
अहिलेको व्यस्त धनगढीको मूल सडकमा त्यतिबेला दिउँसै पनि एक्लो हिँड्न डर हुन्थ्यो । वन्यजन्तुको डर हुन्थ्यो । अहिलेका कतिपय बस्ती उहिले चिहान क्षेत्र थिए । अहिलेजस्तो सवारी साधनहरू थिएनन् । ढुवानीको एकमात्र विकल्प लडिया हुन्थ्यो । आकस्मिक बिरामीलाई पनि त्यसैमा ओसारपसार गर्नुपथ्र्यो । जमिन्दारहरू हात्तीमा चढ्थे ।
धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र, शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहींबाट बजार विस्तार हुँदै गयो ।
जनसंख्या नै कम भएकाले उपभोक्ताहरू पनि थिएनन् । एक जना भारतीय व्यापारीको सानो पसल थियो । ती व्यापारीले भारतको बरेलीबाट चामल, आटा र नुनलगायतका उपभोग्य सामान ल्याएर बिक्री गर्थे ।
पछिल्लो दशकमा धनगढी आधुनिक सहरका रूपमा विकास हुनेक्रम बढ्यो । अत्याधुनिक सिनेमा घर, क्यासिनो, अत्याधुनिक स्वास्थ्य केन्द्रहरू, प्रविधियुक्त शिक्षण संस्थाहरू । उद्योग कलकारखानको केन्द्र । व्यापारी र उद्योगीहरूका लागि उर्बर भूमि । काठमाडौंपछिकै लामो धावनमार्ग भएको धनगढी विमानस्थलबाट दैनिक ६ सय जनाले ओहोरदोहोर गर्ने सहर यतिबेला सुनसान छ । ‘धनगढीमा विस्तार हुँदै गएको यही भौतिक सुविधाले पहाडी जिल्लाका बासिन्दा धमाधम बसाईसराइ गर्न थाले,’ धनगढीका नागरिक अगुवा धनपति ढुंगेल भन्छन्, ‘अहिले पनि पहाडमा एक घर र तराईमा पनि घर हुनेहरू धेरै परिवार छन् । यहाँका बासिन्दाको जीवनशैली फेरियो ।’
धनगढीलाई पनि यतिबेला कोरोनाले नै थला पारेको हो । लकडाउनको निर्देशन यहाँ अझ कडा छ । स्थानीय बासिन्दाहरू अत्यावश्यक कामबाहेक बजार निस्कँदैनन् । व्यापार व्यवसाय ठप्प छ । ‘भित्रै भए पनि पकाइ दिनुस्, हामी लिन आउँछौं भनेर फोन आइरहन्छ’, डायमन्ड कटेका सञ्चालक हिरा चौधरी भन्छन्, ‘जोखिम मोल्ने कुुरै भएन ।’
देशभर ९ जना कोरोना भाइरसका संक्रमित देखिँदा सुदूरपश्चिममै ४ जना भए । अझ नेपाललाई नै संक्रमण जोखिमको दोस्रो चरणमा प्रवेश धनगढीले गराएपछि सुदूरपश्चिम यतिबेला कोरोना भाइरस संक्रमण जोखिमका दृष्टिले इपिसेन्टर नै बन्छ कि भन्ने धेरैको त्रास छ । किन कि भारतबाट आएकाहरूको संख्या डेढ लाख हाराहारी छ । उनीहरू सुदूरका गाउँगाउँ पसेका छन् ।
निरन्तरको लकडाउन अनि भित्री त्रासले स्थानीय बासिन्दाहरू घर बाहिर निस्किएका छैनन् । व्यापार व्यवसाय चौपट भएको छ । ‘मासिक डेढलाख भाडा छ । कसरी तिर्नु भन्ने झर्कोले सताएको छ’ धनगढी बसपार्कमा सञ्चालित बडिमालिका होटलका सञ्चाकल अर्जुन बानियाँले भने, ‘यतिबेला जीवनकै सबैभन्दा ठूलो संकट आइलाग्यो ।’
सानो लगानीका उद्योग व्यवसायीहरू उठ्नै नसक्ने गरी ध्वस्त हुने अवस्थामा पुगेका छन् । ‘व्यवसायीहरू के गर्ने कसो गर्ने भनेर दैनिक फोन गरिरहन्छन् तर उपाय छैन,’ उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवर भन्छन्, ‘व्यापार व्यवसाय चौपट भयो ।’
दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउनेहरूलाई झन धेरै सकस छ । उनीहरूलाई साँझ बिहानको हातमुख जोर्नै सकस भएको छ । धनगढी सबैभन्दा धेरै अटोरिक्सा चल्ने सहर हो । कमैया र सुकुम्बासीको बसोबास यहीं छ । ‘चिनेको पसलवालालाई खुसुक्क उधारै मागेर दाल चामल माग्ने गरेको छु’ धनगढीकै अटोरिक्सा चालक धु्रव थापाले भने, ‘बाँच्नै मुस्किल परिसक्यो ।’