कोरोना भाइरस (कोभिड १९)को महामारी विरुद्ध लड्न यतिखेर विश्वका स्टारहरू एकजुुट भइरहेका छन् । गत अप्रिल १८ मा विश्व स्टारहरु लेडी गागा, टेलर स्विफ्ट, पल एमसीकार्टनी, द रोलिङ स्टोन्स, बियोन्से ओप्राह विन्फ्रे र चिनियाँ पियानोवादक लाङ लाङले महामारीविरुद्ध फ्रन्टलाइनमा रहेर डटिरहेकाहरूको नाममा घरबाटै विशेष प्रशारण गरे ।
‘वन वल्र्डः टुुगेदर एट होम’ शिर्षकमा दुुइ घन्टा प्रसारण भएको यो कार्यक्रम अमेरिकासहित विश्वका विभिन्न देशका टेलिभिजन च्यानलमा एकसाथ प्रसारण भयो । सम्भवतः धेरै वर्षपछि यसरी विश्वका सेलिब्रिटी एकसाथ भेला भए, गीत गाए, हसाएँ र सँगसँगै भाइरसको प्रभावबारे चर्चा गरे । सँगसँगै उनीहरूले आ–आफ्नो देशका पप संस्कृतिसमेत कार्यक्रममा झल्काए ।
एल्टन जोन, जेनिफर लोपेज, स्टिभी वन्डर, बेलायती फुटबल स्टार डेभिड ब्याकहम, बिल गेट्स, अमेरिकाका पूूर्व प्रथम महिलाद्वय मिसेल ओबामा र लौरा बुुस, इटालियन गायक एन्ड्रिया बोसेली, क्यानेडियन गायक सेलिन डायोन, अमेरिकी गायक बिली आइलिस लगायत दर्जनांै सेलिब्रिटी पनि यो अभियानमा घरबाटै सहभागी थिए ।
‘म सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्साकर्मी, ग्रोसरी स्टोरका कर्मचारी, डेलिभरी कामदार, पोस्टल कर्मचारीलगायत गैरनाफामूलक संस्थाका सदस्यहरूप्रति आभार प्रकट गर्छु । जसले यो कार्यक्रममार्फत हामीलाई एकजुट हुन सहयोग गरे’, अमेरिकी गायिका लेडी गागाले भनिन् ।
‘यो विश्वभर रहेका मान्छेहरुका लागि लागि एउटो मिठो र सच्चा प्रेम पत्र हो, मलाई विश्वास छ यसले अहिले संसारभर देखिरहेको मनकारी भावनाको स्मरण पनि गराउनेछ,’ उनले थपिन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) र गैह्र नाफामूलक समूह ग्लोबल सिटिजनको संयुुक्त नेतृत्वमा आयोजना भएको यो कार्यक्रममा अहिले कोरानाविरुद्धको मोर्चामा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्य सेवा, ग्रोसरी, डेलिभरी, पोस्टल, शिक्षक लगायत कामदारका व्यक्तिगत कथा सुुनाइएको थियो ।
विश्वभरका चिकित्सक र नर्सहरूको सम्मान र प्रशंसामा विभिन्न देशका नागरिकले सोसियलमा मिडिया गरिरहेको पोस्ट र मिडियामा प्रसारण भएका न्यूज क्लिपहरू कार्यक्रममा देखाइएको थियो । उनीहरुको सम्मानमा आ–आफ्ना घरका झ्यालबाट नागरिकले गरिरहेको सलामको दृश्य पनि प्रसारण गरिएको थियो । सँगसँगै कोरोनाका कारण साह्रो–गाह्रो र बिरामी परेका नागरिकका लागि मान्छेहरूले देखाइरहेको सहयोगी भावनालाई पनि कार्यक्रममा विशेष ठाउँ दिइएको थियो ।
‘हामी आज यहाँ पैसा मागिरहेका छैनौं,’ अमेरिकी कमेडियन स्टेफन कोल्वर्टले कार्यक्रमको सुरुमै भनेका थिए । कार्यक्रमले परोपकारी र सहयोगी संस्थाहरूलाई सार्वजनिक कोषको सट्टा डब्लुुएचोको कोभिड–१९ सोलिडारिटी रेस्पोन्स फन्डमा सहयोग गर्न प्रेरित गरेको थियो । ‘कर्पोरेट र केही डोनरहरूले करिब डेढ सय मिलियन डलर सहयोग गरिसकेका छन्,’ कार्यक्रममा आयोजकले भनेको थियो ।
कार्यक्रममा गायिका गागाले सम्पूर्ण दर्शकलाई यो साँझ सम्पूर्ण पीडा भुुलेर एक पलका लागि भएपनि मुुस्कुराउन अनुरोध गर्दै ‘स्माइल’ बोलको गीत गाएकी थिइन् ।
कार्यक्रममा बियोन्सेले पर्फम गरिनन् तर भिडियो म्यासेजमार्फत कोभिड–१९ का कारण अश्वेत समुुदायमा बढिरहेको असामयिक मृत्युु दरबारे जानकारी दिइन् ।
‘भाइरसले अमेरिकामा अश्वेत नागरिकलाई खतरनाक दरमा मारिरहेको छ,’ उनले सम्पूर्ण दर्शकलाई उनीहरूको सुरक्षा गर्न आग्रह गरिन् ।
त्यसैगरी अमेरिकी गायिका टेलर स्विफ्टले पियानोमार्फत ‘सुुन, यू विल गेट बेटर’ गीत गाउँदै माहोल भावुुक बनाइन् । उनकी आमा क्यान्सरविरुद्ध लडिरहँदा उनले यो गीत लेखेकी थिइन् । आज विश्वकै सुखद स्वास्थ्यको कामना गर्न आमाका लागि लेखेको यो गीत उनलाई काम लाग्यो ।
त्यस्तै द रोलिङ स्टोन्सले मिक जेगर र किथ रिचार्डका साथ अकस्टिक गीतारमा ‘यूू कान्ट अबलेज गेट ह्वाट यू वान्ट’ बोलको गीत गाए ।
‘हामी सधैँ स्वास्थ्यकर्मीको सराहना गथ्र्यौं, तर आज अझै धेरै गर्छौ,’ गायिका विन्फ्रेले भिडियो म्यासेजमार्फत भनिन्, ‘तिनीहरू साँच्चै सलामका हकदार छन् । सरकारले जतिसक्दो चाँडो उनीहरूलाई आवश्यक स्वास्थ्य र सुरक्षाका सामग्री र रकम उपलब्ध गराउनुुपर्छ ।’
कार्यक्रममा अमेरिकी गायक बिल विथरले क्लासिक गीत ‘लिन अन मी’ गाए भने एमसीकार्टनीले आफ्नी आमा पनि नर्स रहेको सम्झना गर्दै ‘लेडी मेडोन्ना’ गाए ।
यो कार्यक्रम सुुरु हुनुुअघि अप्रिल १८ मै अमेरिका, एसिया र मध्य पूूर्वका क्लाकिल र र्याप संगीतकर्मीहरुले घरबाटै ६ घन्टा लाइभस्ट्रिम प्रस्तुति दिएका थिए । जसमा ल्याटिन स्टार लुुइस फोन्सी, आर एन्ड बी गायक जेनिफर हड्सन, चिनियाँ गायकहरू एसन चान, ज्याकी चियुुङ, भारतका विशाल मिश्र लगायत सहभागी थिए ।
सम्पूर्ण सेलिब्रेटीले आ–आफ्नो प्रस्तुुतिसँगै नागरिकहरूलाई आग्रह गरेका थिए, ‘घरमै बस्नुुस्, नियमित हात धुनुुस्, सामाजिक दूरी कायम राख्नुस् र राजनीतिक नेताहरूलाई भाइरसविरुद्धको परीक्षणलाई द्रुुत गतिमा बढाउन दवाव दिनुस् ।’
स्मरण रहोस्, नेपाली कलाकार पनि कोरोना भाइरसविरुद्ध सचेतना अभियानमा सक्रिय छन् । हास्यकलाकार जोडी सिताराम कट्टेल र कुुन्जना घिमिरे (धुर्मुुस–सुुुन्तली) सचेतनामूलक भिडियोमार्फत सचेतना फैलाइरहेका छन् भने गायिका मेलिना राई, गायकहरू विनय कार्की, सविन लामा, राजु परियार लगायत दर्जन बढी संगीतकर्मीले कोरोनासम्बन्धी जनचेतना जगाउने गीत गाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित ११ कलाकारको अभिनयमा सचेतनामूलक म्यूजिक भिडियो नै सार्वजनिक गरेको छ ।
(एजेन्सीको सहयोगमा)

