नेपालमा वि.सं. २०२३ देखि रक्तदान कार्यक्रम सुरु भएको हो । केन्द्रीय रक्तसञ्चार केन्द्रका अनुसार नेपालमा एक वर्षमा २ लाख ३० हजार युनिट रगत संकलन हुने गरेको छ, जब कि हरेक वर्ष ५ लाख युनिट रगत आवश्यक हुन्छ । नेपालमा संकलित रगतमध्ये १ प्रतिशतमा रगतसम्बन्धी विभिन्न संक्रमण देखिने गरेको छ । छिमेकी देश भारतमा एक वर्षमा १ करोड ३० लाख युनिट रगत आवश्यक हुन्छ भने ९० लाख युनिट मात्र संकलन हुन्छ ।
नेपालमा पहिलो पटक रक्तदान गर्ने व्यक्ति दयावीरसिंह कंसाकार हुन् । उनले वि.सं. २००० मा रत्नकाजी तुलाधारलाई वीर अस्पतालमा रगत दिएका थिए । नेपालमा हालसम्म सबैभन्दा धेरै १ सय ५० पटक रक्तदान गर्ने व्यक्ति प्रेमसागर कर्माचार्य हुन् भने सबैभन्दा धेरैपटक रक्तदान गर्ने महिला नीता घिराइया हुन् । उनले १ सय ३० पटकभन्दा बढी रगत दान गरिसकेकी छिन् ।
मानिसको शरीरमा रगत प्रवाह हुन्छ भन्ने कुरा सन् १६१६ मा बेलायती चिकित्सक डा. विलियन हार्वेले पत्ता लगाएका थिए । मानिसभित्र फरक–फरक रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाउने डा. कार्ल ल्यान्डस्टिनर हुन् । उनको जन्मदिन जुन १४ लाई आधार मानेर सन् २००४ देखि विश्व स्वास्थ्य संगठनले हरेक वर्ष रक्तदान दिवस मनाउन सुरु गरेको हो । नेपालमा १२ साउनमा रक्त संचार दिवस मनाइदै आएको छ ।