७.फागुनमा प्रहरीको मोष्ट वान्टेडको सूचीमा रहेका गुण्डा नाइके मनोज पुन गोवामा पक्राउ परेको खबर सामाजिक सञ्जाल र अनलाइनमा भाइरल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई गोवामा पक्राउ गरेर नेपाल ल्याउन लागेको अपुष्ट समाचार डढेलो जस्तो फैलिएको थियो । खबर अपत्यारिलो पनि थिएन्, किनभने मनोज लामो समयदेखि प्रहरीको टाउको दुखाइ बन्दै आएका थिए ।
ती समाचारसँगै बुटवल वरपर गाइँगुइँ चल्यो, मनोज पुनका सहयोगी सार्पसुटर सोम आले ३ फागुनमा चितवनमा पक्राउ परेका थिए र तिनै आलेले दिएको सूचनाका आधारमा प्रहरीले मनोजलाई गोवामा ६ फागुनमा पक्राउ गरेको हो । साप्ताहिकले मंगलबार यही खबर पुष्टि गर्न प्रहरीका केही उच्च अधिकारी तथा स्रोतहरूसँग सम्पर्क गर्यो तर, प्रहरी अधिकारीहरूले उक्त खबरमा कुनै सत्यता नभएको बताए ।
संयोग नै मान्नुपर्छ, हल्ला र सामाजिक सञ्जालको चर्चा नसेलाउँदै विदेशी भूमिमा लुकेर तीन वर्षदेखि नेपालमा हत्या, फिरौती र धम्कीमार्फत आतंकको साम्राज्य चलाइरहेका मनोज बुधबार बिहान झिसमिसेमै प्रहरी कारबाहीमा मारिए । प्रहरीका लागि सर्वाधिक टाउको दुखाई बनिरहेका मनोज र उनका एक सहयोगीलाई केन्द्रीय अनुसन्धान ब्युरो तथा रुपन्देही प्रहरीको संयुक्त टोलीले देवदह नगरपालिका–४ भवानीपुरमा २२ राउन्ड गोली दागेर इन्काउटर गरेको दाबी गरिएको छ । मनोजसँगै उनका दायाँहात मानिने सार्पसुटर सोम आलेमगर पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
भवानीपुरमा सर्च अप्रेसनमा रहेको प्रहरी र बाइकमा रहेका मनोज–सोम आमनेसामने भएको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली चलाएको रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन् । ‘भारतको गोवामा प्रहरीबाट पक्राउ परेको प्रायोजित हल्ला फैलाएर पुन: अर्को ठूलो घटना घटाउने योजनामा मनोज देवदह क्षेत्रमा आएको सूचना प्रहरीलाई थियो, सीआईबीको सूचनाका आधारमा हामी अघिल्लो दिनदेखि नै सर्च अप्रेसनमा थियौं, सोही क्रममा बुधबार बिहान साढे तीन बजेतिर जम्काभेट भएपछि उसले प्रहरीमाथि फायर खोल्यो, त्यसपछि प्रहरीले जवाफी कारबाही गर्यो र उनीहरू गोली लागेर घाइते भए,’ प्रहरी प्रमुख ज्ञवालीले भने ।
प्रहरीका अनुसार उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा थिए । गोली लागी घाइते भएका उनीहरूलाई तत्कालै उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको र अस्पतालमै दुवैलाई मृत घोषित गरिएको उनले बताए । उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र केही राउन्ड गोली बरामद गरेको ज्ञवालीले जानकारी दिएका छन् । प्रहरीले तयार पारेको घटनाको मुचुल्कामा मनोजको अगाडिको भागमा ८, तिघ्रामा २, पाखुरा र ढाडमा १–१ राउण्ड गरी १२ राउण्ड तथा आलेको छातीमा ५ र ढाड, पेट, बाँया कोखमा १–१ गरी गरी १० राउन्ड गोली प्रहार गरिएको देखिन्छ ।
मनोज डिएसपी कुमुद ढुंगेलको कमाण्डमा रहेको प्रहरी टोलीसँगको इन्काउन्टरमा मारिएका हुन् । कुमुद तिनै प्रहरी अधिकारी हुन्, जो २०७१ साउन २१ मा धादिङ र काठमाडौंको सीमाना नागढुंगामा भएको चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गर्ने टोलीमा थिए । मनोजकै खोजीका लागि प्रहरीले गत सातामात्र कुमुदलाई रामेछापबाट रुपन्देही पठाएको थियो । सीआईबी इन्स्पेक्टर दीपेन्द्र अधिकारी तथा सई रमेश बजगाईं उनकै खोजीमा भारतको गोवासम्म पुगेका थिए ।
तिवारी र बलु मारिएकै ठाउँमा मनोजको इन्काउन्टर
मनोज र सोम इन्काउन्टर गरिएको भनिएको भवानीपुरस्थित घटनास्थल मनोजकै योजनामा हत्या गरिएका दुर्गा तिवारी र बलु पौडेलको हत्या गरिएको स्थल नजिकै छ । खैरेनीचोकबाट करिब ४ किलोमिटर दक्षिण बाइपास सडकको पुल नजिकै एउटा सानो चोक छ । केही कच्ची र केही पक्की रहेको यो सडक मंगलापुर र मणिग्राम हुँदै सिद्धार्थ राजमार्गमा जोडिएको छ ।
स्थानीय पत्रकार यम रानाका अनुसार बुधबार बिहान झिसमिसेमै इन्काउन्टर गरेर हिँडेको प्रहरीको टोली उज्यालो भएपछि फेरि गाउँ फर्किएको थियो । इन्काउन्टर भएको सडक रगतले रक्ताम्य थियो । पोखिएको रगतलाई माटो हालेर पुरेको र गोलीले ढलेका दुवैको शवलाई प्रहरीको टोलीले केही मिटर परसम्म घिसारेर लगेको स्थानीय बासिन्दाहरूको भनाइ छ ।
पासपोर्ट पनि नक्कली
इन्काउन्टरमा मारिएका पुन र आलेको साथबाट प्रहरीले बरामद गरेको राहदानी नक्कली भएको बताइन्छ । इन्काउन्टरपश्चात् उनीहरूले बोकेको ब्याग जाँच गर्दा एक थान ल्यापटप, २ थान मोबाइल, पासपोर्ट, एटीएम कार्ड आदि सामग्री बरामद भएको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए । पुनले सुनीलकुमार रानाको नाममा रहेको पासपोर्टमा आफ्नो फोटो टाँसेको पाइएको छ । उक्त पासपोर्टमा हालसम्म कुनै पनि मुलुकको भिसा भने लागेको छैन ।
दाउद शैलीको सिको
मनोज पछिल्ला तीन वर्षमा नेपाली अपराधको दुनियाँमा सबैभन्दा ठूलो नामका रूपमा चर्चामा आएका थिए । उच्च महत्वाकांक्षा पूरा गर्न उनले ठेक्कापट्टा, राजनीति हुँदै आफ्नो बेग्लै अन्डरवल्र्ड ब्रान्ड बनाउन थालेका थिए । मनोज राजनीतिबाट आफ्नो महत्वकांक्षा पूरा हुने नदेखिएपछि अपराधको संसारमा पुगे ।
मनोज हत्या, फिरौती तथा धम्कीमार्फत आतंक सिर्जना गर्थे । त्यसका लागि उनले अन्तर्राष्ट्रिय अपराधको दुनियाँका कुख्यात नाम दाउद इब्राहिमको सिको गरे । उनी नम्बर नदेखिने इन्टरनेट कलमार्फत व्यवसायीहरूसँग फिरौती माग्ने, नदिए गोली हानेर तर्साउने अनि त्यसबाट पनि नभए ‘कन्ट्याक्ट किलिङ’ मार्फत हत्या गर्ने र त्यसपछि अन्य व्यापारीलाई त्यही शैलीमा मार्ने धम्की दिँदै फिरौती उठाउन थाले ।
मनोजको अपराध श्रृंखला
हत्या, अपहरण तथा शरीर बन्धक, फिरौती, हातहतियार तथा खरखजाना, ब्ल्याकमेलिङ, गुण्डागर्दीजस्ता दर्जनौं अपराधिक घटनाका मुख्य अभियुक्त थिए–मनोज । ३२ वर्षीय मनोजको वास्तविक थर भने बुढामगर हो ।
२०७० सालदेखि विभिन्न अपराधिक गतिविधिमा संलग्न मनोजलाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको थियो । २ असोज २०७० मा मनोजमाथि गोली चलाएको अभियोगमा हातहतियार तथा खरखजाना मुद्दासमेत दायर भएको थियो । सोही मितिमा मनोजमाथि ज्यान मार्ने उद्योगमा अर्को मुद्दा दर्ता भएको प्रहरी फाइलमा देखिन्छ ।
४ पुस २०७३ मा मनोजकै योजनामा एमालेको भ्रातृ संगठन प्ररायुवा संघ, रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यसपछि प्रहरीले उनलाई संगठित रूपमा कर्तव्य ज्यान मुद्दा लगाएको थियो । त्यही बेलादेखि मनोज अन्डरग्राउन्ड भएर भारत पसेका हुन् । तिवारीको हत्या गर्नुभन्दा केही समयअघिसम्म उनी एमाले निकट युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष थिए ।
त्यसअघि उनले माओवादीको भ्रातृ संगठन वाईसीएलमा रहेर काम गरेका थिए । जुनसुकै राजनीतिक दलको युवा संगठनमा लागे पनि उनको मुख्य उद्देश्य उद्योगी–व्यवसायीहरूसँग रकम असुल्ने नै थियो । संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुन्डागर्दी गर्ने काम जारी नै राखेका थिए । मनोज युथ फोर्सको आडमा गुन्डागर्दी गरेको अरोपमा साँगठनिक कारबाहीमा समेत परेका थिए ।
तिवारी हत्याको केही दिन नबित्दै मनोजले ८ पुस २०७३ मै इन्टरनेटमार्फत कल गरी एक व्यापारीसँग २० लाख रुपैयाँ फिरौती माग गरेका थिए । आफूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि मनोजले ती व्यापारीलाई अपहरण गर्ने धम्की दिएका थिए । पछि मनोजले ती व्यापारीबाट आफ्ना सहयोगीमार्फत २ लाख रुपैयाँ फिरौती असुलेका थिए ।
मनोजकै योजनामा २० साउन २०७४ मा फिरौती नदिने रुपन्देही मणिग्रामका एक मार्बल व्यवसायीमाथि दुई राउण्ड गोली प्रहार भयो । मनोजले ती
व्यापारीसँग ४० लाख रुपैयाँ फिरौती मागेका थिए, फिरौती नदिएपछि तर्साउनका लागि उनले ती व्यापारीमाथि कन्ट्याक्ट सुटर प्रयोग गरी गोली हान्न लगाएका थिए ।
२१ पुसमा मनोजले बुटवलकै फर्निचर व्यवसायी बसन्त (बलु) पौडेलको हत्या गराएका थिए । यी दुई हत्याबाहेक २३ असोजमा काठमाडौंको शान्तिनगरस्थित खरिबोटमा भएको हाइप्रोफाइल व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता देखिएको प्रहरी अधिकारीहरूको दाबी छ । यस्तै, गत वर्षको चैतमा गुण्डा नाइके दावा लामामाथि काठमाडौंको गौरीघाटमा भएको गोली प्रहार पनि मनोजकै निर्देशनमा भएको बताइन्छ ।
मनोजले रुपन्देही र काठमाडौंलगायतका ठाउँका ठूला व्यापारी तथा व्यवसायीहरूबाट पनि फिरौती नदिए ज्यान मार्ने धम्की दिने गरेका थिए ।
इन्काउन्टर गैरकानुनी : कानुनविद्
कानुनविद्हरूले कुनै अभियोग लागेका व्यक्तिलाई प्रहरीले इन्काउन्टरका नाममा ज्यान लिनु गैरकानुनी भएको टिप्पणी गरेका छन् । प्राध्यापक एवं अधिवक्ता महेन्द्र पाण्डेले इन्काउन्टरका नाममा राज्यले अभियुक्तको ज्यान लिनु गलत भएको बताए । ‘राज्यले कसैसँग बदला लिनुहुँदैन, राज्य सबैको अभिभावक हो । पक्राउ गरेर कानुनअनुसार हदैसम्मको सजाय दिन सकिन्छ, आजीवन जेल राख्न सकिन्छ तर ज्यान नै लिने काम राज्यको बर्बरता हो,’ पाण्डेका अनुसार यसरी ज्यान लिँदा अपराधसँग जोडिएका अरू व्यक्तिको पहिचान एवं अभियुक्तसँग रहेका महत्वपूर्ण जानकारी पनि अन्त्य हुन्छ, कतिपय अवस्थामा ऊसँग जोडिएका अझ ठूला अपराधीलाई जोगाउन पनि इन्काउन्टर गराइन्छ ।’ प्रहरीको यस्तो इन्काउन्टरले अपराध घट्ने नभई बदलाको भावना विकास भएर थप अपराध बढ्न सक्ने अधिवक्ता पाण्डेको तर्क छ ।
सुकुम्बासी बस्तीबाट अपराध दुनियाँमा
केही समय ढुंगा, गिट्टी, बालुवाको कारोबार समेत गरेका मनोज बाल्यकालमा भने निकै सोझा र सामान्य रहेको उनका छिमेकीहरू बताउँछन् । पुख्र्यौली घर म्याग्दीका पुनको परिवारमा भारतीय सेनाका सेवानिवृत्त बुबा, गृहिणी आमा, एक जना दाइ तथा दुई दिदी–बहिनी छन् । खैरेनी चोकबाट ५ सय मिटर भित्र ऐलानी जग्गामा मनोजको परिवारको चार कोठाको एकतले घर छ । मनोजका बुबा मधुमेह तथा आमा बाथ रोगी हुन् । मनोजकी विवाहित दिदी बेलायतमा बस्छिन् भने बहिनी नेपालमै अध्ययनरत छिन् । मनोजले आफ्नो घर नजिकैकी छिमेकी युवतीसँग प्रेम विवाह गरेका थिए जसबाट उनीहरूकी एक छोरी छिन् ।
स्थानीय केरवानी माविमा एसएलसीसम्म अध्ययन गरेका मनोज सानैदेखि पढाइमा खासै राम्रो नभएको उनलाई चिन्नेहरू बताउँछन् । एसएलसीपछि पढाइ छाडेर उनी अपराधिक कर्ममा जोडिन पुगे । सीधासादा मनोज अपराध कर्ममा प्रवेश गरेपछि भने ठीकविपरीत ज्यादै क्रुर र पाशविक रूपमा प्रस्तुत भएको जानकारहरू बताउँँछन् ।