कोरोना भाइरसका कारण अहिले नेपाली फिल्म क्षेत्र लगभग ठप्प छ । फिल्म हल सबै बन्द छन्, सुटिङहरु रोकिएका छन्, फिल्मका रिलिज मिति स्थगित भएका छन्, अनि देशविदेशमा तय भएका कन्सर्टहरू ‘क्यान्सिल’ ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यकबाहेकका काम नगर्न आम सर्वसाधरणलाई निर्देश गरेपछि अहिले अधिकांश फिल्मकर्मी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । अर्थात्, घरमै छन् ।
कतिपय कलाकारहरू घरबाटै भिडियो म्यासेजमार्फत कोरोनाविरुद्ध सचेतना अभियानमा लागेका छन् । आफ्ना प्रशंसकहरूलाई बाहिर हिड्डुल नगर्न, सरसफाइमा ध्यान दिन भिडियोमार्फत नै अनुरोध गरिरहेका छन् ।
कलाकारहरू राजेश हमाल, दीपकराज गिरी, जितु नेपाल, नाजिर हुसेन, साम्राज्ञी राज्य लक्ष्मी शाह, ऋचा शर्मा, दीपाश्री निरौला, अनु शाह लगायत दर्जनौं कलाकार सोसियल मिडियामार्फत यो सचेतना अभियानमा सक्रिय देखिएका छन् ।
तर, यसबाहेक ‘सेल्फ क्वारेन्टाइन’मा उनीहरू कसरी दिन कटाइरहेका छन् त ? केही कलाकारसँग साप्ताहिकले सम्पर्क गर्दा अधिकांशले आफ्नो समय सिर्जनात्मक र रचनात्मक कार्यमै खर्चिरहेको पाइयो ।
अभिनेत्री केकी अधिकारी शुक्रबारसम्म कास्कीमा थिइन्, फिल्म ‘परदेशी –२’को सुटिङमा । शनिबार दिउँसो काठमाडौं फर्किएयता उनी ‘सेल्फ क्वारेन्टाइन’मा छिन् । यो फुर्सदको समयलाई सचेततापूर्वक रचनात्मक र सिर्जनात्मक बनाउने तयारीमा छिन् उनी ।
‘फिल्म हेर्दै, स्क्रिप्ट पढ्दै दिन कटाइरहेकी छु,’ उनले भनिन्, ‘नेटफ्लिक्समा ‘सी’ र ‘म्यारिज स्टोरी’ सिरिज हेरिसकेँ । अझै राम्रा र हेर्नैपर्ने फिल्म के हुन सक्छन्, साथीहरूलाई सिफारिस गर्न पनि अनुरोध गरिरहेकी छु ।’
फिल्मबाहेकको केही समय प्रस्ताव आएका फिल्मका स्क्रिप्ट पढ्नका लागि पनि छुट्याइरहेकी छिन् उनी ।
‘कुन–कुन फिल्म ?’ भन्ने प्रश्नमा हाँस्दै जवाफ दिइन्, ‘नामचाहिँ अहिले नभनौं होला । स्क्रिप्ट पढ्दा फिल्म नगर्ने चान्स बढी देखियो, त्यसैले ।’ फिल्म र स्क्रिप्टबाहेक केही समय पुस्तकलाई पनि दिइरहेको उनले सुनाइन् ।
त्यस्तै फिल्म ‘परदेशी–२’बाट अभिनय यात्रा सुरु गरेका गायक प्रकाश सपुत पनि शनिबार सुटिङ छाडेर ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बागलुुङस्थित आफ्नो गाउँ पुुगेका छन् । परिवारका अन्य सदस्यहरू पनि गाउँमा सँगै भेला हुने क्रम जारी छ ।
पुराना डायरी र ल्यापटपसहित पुुगेका छन् उनी गाउँ । मोबाइलको नोटबुकमा पनि केही लाइनहरू टिपेर राखेका छन् । भन्छन्, ‘सम्भवतः म जतिन्जेल गाउँ बस्छु, केही न केही सिर्जना गरेर, लेखेर नै बस्ने सोचिरहेको छु ।’
पुरा समय सिर्जनामै बिताउने उनको सोच पनि छैन । त्यसैले ब्यागमा एक सेट ब्याडमिन्टन र एक सेट क्यारमबोर्ड पनि लिएर गएका छन् । ‘परिवारका सदस्यसँग ब्याडमिन्टन र क्यारमबोर्ड खेल्दै समय बिताइरहेको छु,’ उनले भने, ‘रेकर्डिङ र स्टेज कार्यक्रमले निकै व्यस्त बनायो । कोरोनाले जुराइदिएको यो फुर्सदको समय परिवारलाई दिन पाउँदा भने खुशी नै छु ।’
अभिनेता दीपकराज गिरीका अनुसार विगत चार महिनादेखि ‘छक्कापन्जा–४’को स्क्रिप्टका लागि अघोषित क्वारेन्टाइनमा थिए । ‘जब यो कोरोना आयो अनि झन् कठोर क्वारेन्टाइनमा छु,’ उनी भन्छन्, ‘बरू जनचेतनाका भिडियो बनाएर अपलोड गर्दैछु, तर सकेसम्म घरभित्र नै छु । यसै पनि घर बाहिर जाऊँ कि जस्तो ग¥यो भने श्रीमतीजी घरबाहिर बम नै राखेको छ झैं कराउछिन् । हुन पनि यो अदृश्य बम नै हो । डराउने होइन सतर्क हुने हो, हुँदैछु ।’
अहिले भक्तपुर, सूर्यविनायकस्थित घरमा दिन कटाइरहेकी अभिनेत्री सुरक्षा पन्तलाई भने काम नहुुँदा घर बस्दा र सेल्फ क्वारेन्टाइनमा बस्दाबीच खासै फरक महसुस भएको छैन । ‘हामी सधैँं केही न केही गरिरहन्छौं घरमा’ उनले भनिन्, ‘चाहे त्यो बुुझ्ने काम होस् या सिक्ने । अझ आफूलाई आइसोलेसनको अवस्थामा हेर्नुको मज्जै बेग्लै हुनेरहेछ । अहिले म आफ्नो समय सामान्य उठ्ने र सुत्ने बाहेक योग र ध्यानमा पनि बिताइरहेकी छु । पढ्न अल्छी मानेर छाडेको किताब पनि अहिले पल्टाउँदै छु । ’
यतिमात्रै होइन, बल्ल उनलाई थाहा हुँदैछ घरमा हुने कामको चाप । ‘काम त कति हुने कति,’ उनले सुनाइन्, ‘खानपिनमा बढी नै ध्यान जाँदो रहेछ यसबेला । सामान्यतः कलाकारको काम यो सबै चिजमा ध्यान दिने नै हो जस्तो लाग्छ । अहिले आफूसँग भएका अरू क्षमता देखाउने समय आएको छ । म पेन्टिङ गर्न रुचाउने मान्छे, बिर्सिसकेको थिएँ, फेरि सुरु गर्दैछु । नयाँनयाँ सिनेमा हेर्ने कुरा त छँदैछ तर अभ्यासकै हिसाबले अहिले लेख्न पनि खोज्दैछु ।’
फुर्सदको समयलाई सदुपयोग गर्ने उनको योजनाको सूची लामै छ । गमलामा बिरूवा रोप्ने तयारी पनि गरिरहेकी छिन् । साह्रै अल्छी लाग्यो भने एकछिन ताजा हावा खान नजिकैको डाँडातिर ट्रेकिङ पनि गइरहेकै छिन् । सँगसँगै कलाकारका हिसाबले सामाजिक सञ्जालमार्फत सहि सूचनाको प्रवाहका पनि चुकेकी छैनन् ।
अभिनेत्री ऋचा शर्मा पनि चार दिनयता सेल्फ क्वारेन्टाइनमै छिन् । पुस्तक पढ्दै, मीठो–मीठो खाना पकाउँदै, योगा र मेडिटेसन गर्दै, फिल्म हेर्दै अनि लुडो र क्यारम खेल्दै उनको दिन सहजै बितिरहेको छ ।
सरला गौतमको ‘डुमेरु’, भूमिका श्रेष्ठको बायोग्राफी र पाउलो कोहेलोको ‘ब्रिडा’ पढेर सिध्याइसकिन् । ‘अझै चारवटा किताब पढ्न बाँकी छ,’ उनले सुनाइन् ।
अभिनेता राजेश हमाल पनि लाजिम्पाटस्थित ‘सेल्फ क्वारेन्टाइन’बाटै आम दर्शकलाई धैर्य तर सचेत रहन भिडियोमार्फत सन्देश दिइरहेका छन् ।
यो समयलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘पुस्तक, युट्युब, कफी अनि मधु ।’
अभिनेत्री स्वस्तिमा खड्का आइतबारसम्म फिल्मको डबिङमा व्यस्त थिइन् । तर, आजबाट पूर्णतः सेल्फ क्वारेन्टाइनमा बस्ने निधोमा पुगेकी छिन् । सोमबारको सुटिङसमेत क्यान्सिल गरेकी उनले भनिन्, ‘अब फिल्म हेरेर समय बिताउने हो ।’
हास्यकलाकार विल्सनविक्रम राई व्यस्तताका कारण लामो समयदेखि फिल्म हेर्न पाइरहेका थिएनन् । ‘हेर्नुपर्ने तर हेर्न छुटेका सिनेमाहरू अहिले हेर्दैछु,’ उनले भने, ‘दि प्लेटफार्म, प्यारासाइट र इन्डियन वेभ सिरिज ‘सी’ हेरिसकेँ । अब पुराना नेपाली फिल्म युट्युबमा खोज्दै हेर्ने सोच पनि छ ।’
यी सिनेमासँगै उनी आफ्ना सिनेमा पनि हेरिरहेका छन् यतिखेर । किन त ? भन्छन्, ‘कलाकारका रुपमा म कहाँ चुकेँ होला, अहिले दर्शक भएर मूल्यांकन गर्ने कोसिस गर्दैछु,’ उनले भने ।
गायिका मेलिना राई पनि देशविदेशमा तय भएका थुप्रै कन्सर्ट रद्द भएपछि अहिले घरमै समय बिताइरहेकी छिन् । आइतबार दुई गीतको रेर्कडिङ गर्न स्टुडियोसम्म पुगेकी थिइन् तर त्यो यतिखेर ठिक महसुस नभएपछि आज सोमबारबाट पूर्णतः सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णयमा पुगेकी छिन् । घरका सदस्यलाई बाहिर निस्कन दिएकी छैनन् । ‘राम्रा फिल्म हेरेर दिन कटाउने सोचमा छु,’ उनले भनिन् ।
मेलिनाझैं अहिले गायक प्रमोद खरेल पनि घरमै छन् । ‘हारमोनियम र गीतार समातेपछि समय बितेको पत्तै हुन्न,’ उनी भन्छन्, ‘कहिले सोसियल साइटमा बिजी भइरहेको छु, कहिले पुराना फिल्म हेरेर । परिवारबाट टाइम दिएन भन्ने गुनासो सुन्नु परेको छैन । भान्सामा पकाउन पनि सिक्दैछु । जे होस्, कोरोनाको सही सदुपयोग गर्ने कोसिस गरिरहेको छु ।’
०७२ सालमा भूकम्प जाँदा दोलखाको एक विद्यालय पुनःनिर्माणमा सक्रिय भएका खरेल यतिखेर पनि सामाजिक काम गर्ने सोचमा छन् । ‘सामाजिक रूपमा केही गरौं भन्ने लाग्दैछ तर सबै अलमलमा छन् के गर्ने, के नगर्ने’, उनले भने, ‘अरू प्रकोपजस्तो बाहिर निस्केर केही गर्न पनि अफ्ठेरो छ । किनकि घरमै बस्नु पनि रोग रोक्ने उत्तम उपाय हो भन्ने बुझेको छु ।’